बाजुरामा शान्तिपूर्ण मतदान : आफ्नो भोट आफै हाल्न पाउँदा मतदाता खुसी


फार्मान्यूजनेपाल AI सारांश
  • बाजुराको चुनावी इतिहासमा पहिलो पटक शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ ।
  • यो पटकको चुनावमा सामान्य झडप तथा विवाद समेत भएन ।
  • प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जिल्लाभर सामान्य वातावरणमा सौहार्दपूर्वक मतदान सम्पन्न भएको जानकारी दिए ।बाजुरामा ८७ हजार ८६१ जना कुल मतदातामध्ये यो समाचार तयार पार्दासम्म प्रशासनसँग उपलब्ध तथ्याङ्कअनुसार ४४ हजार ७७३ जनाले मतदान गरेका छन् ।जानकारहरूका अनुसार २०४८ यताका सबै निर्वाचनमा बाजुरामा विवाद नभएको कुनै निर्वाचन छैन ।

बाजुरा । बाजुराको चुनावी इतिहासमा पहिलो पटक शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ । यो पटकको चुनावमा सामान्य झडप तथा विवाद समेत भएन । प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जिल्लाभर सामान्य वातावरणमा सौहार्दपूर्वक मतदान सम्पन्न भएको जानकारी दिए ।

बाजुरामा ८७ हजार ८६१ जना कुल मतदातामध्ये यो समाचार तयार पार्दासम्म प्रशासनसँग उपलब्ध तथ्याङ्कअनुसार ४४ हजार ७७३ जनाले मतदान गरेका छन् ।

जानकारहरूका अनुसार २०४८ यताका सबै निर्वाचनमा बाजुरामा विवाद नभएको कुनै निर्वाचन छैन । सबैजसो निर्वाचनमा बुथ कब्जा गर्ने, फर्जी मत हाल्नेदेखि कमजोर मतदाताको मताधिकार बलपूर्वक अर्कोले प्रयोग गर्नेसम्मका घटना हुँदै आएका थिए ।

यस पटक भने मतदान गर्ने सबै बाजुरावासीले आफ्नो भोट आफै हाल्न पाएको दाबी गरिएको छ । पहिलो पटक भयरहित वातावरणमा आफैले भोट हाल्न पाएकामा यहाँका मतदाता खुसी छन् ।

२०७९ मंसिर ४ मा सम्पन्न भएको संसदीय निर्वाचनमा बाजुराको त्रिवेणी नगरपालिका–७ मा विवाद हुँदा दुई जनाको ज्यान नै गएको थियो । त्यो बेला २५ भन्दा बढी मतदान केन्द्रमा झडप नै भएको थियो ।

सोही वर्ष वैशाखमा भएको स्थानीय तह निर्वाचनमा बुढीगंगा नगरपालिकामा पहिलो पटक विवाद हुँदा दोस्रो पटक चुनाव भएको थियो । यही कारण बाजुरालाई सधैँ बदनाम भएको स्थानीय शिक्षक डम्बर सिंह बताउँछन् ।

हालसम्म प्राप्त जानकारीअनुसार जिल्लाका ७७ वटा मतदान स्थलमा रहेका ११८ मतदान केन्द्रमा विवादरहित ढंगले मतदान सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी निरौलाका अनुसार जिल्लाको पूर्ववत् चुनावी इतिहासलाई हेरेर सुरक्षा व्यवस्था बलियो बनाइएको थियो ।

सुरक्षा निकायले पनि बलियो सुरक्षा रणनीतिका साथ काम गरिरहेका छन् । चुस्त समन्वयका साथ नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरी परिचालन भएका थिए । सेनाले हेलिकप्टरदेखि ड्रोनबाट अनुगमन गरेको थियो । कतिपय जोखिमका मतदान केन्द्रमा सीसीक्यामरासमेत जडान गरेर सूक्ष्म निगरानी गरिएको थियो ।

केही दिनअघि गृहमन्त्री ओमप्रकाश अर्याल, गृह सचिव राजकुमार श्रेष्ठ, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल नै बाजुरा पुगेर सुरक्षा व्यवस्थाबारे जानकारी लिएका थिए ।

मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले यस पटक शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न मद्दत गर्ने सबै बाजुरावासीलाई धन्यवाद दिए । ‘सबै राजनीतिक दल, सुरक्षाकर्मी, नागरिक समाज, पत्रकार र निर्वाचनमा खटिएका कर्मचारी तथा आम मतदाताको साथ सहयोगले बाजुरामा शान्तिपूर्ण मतदान सम्पन्न भयो,’ पोखरेलले भने ।

प्रतिक्रिया